Barahi News

नेपालमा चिनीको स्टक सकिंदै गएपछि भाउ आकासिन थाल्यो

पत्रपत्रिका –

चिनीको मूल्य अकासिएको छ। मुलुकभित्र चिनीको मौज्दात सकिँदै गएपछि ठूला व्यापारीले मिलेमतो गरी चिनीको मूल्य अत्यधिक वृद्धि गरेका छन्। अहिले खुद्रामा चिनीको मूल्य प्रतिकिलो एक सय रुपैयाँसम्म पुगेको छ।

बजार मूल्य हस्तक्षेपको भूमिका खेल्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनीको मौज्दात सकिएको अवस्थामा बजार मूल्य वृद्धि भएको हो। यही बेला स्वदेशी उद्योगसँगसमेत मौज्दात सकिएको छ। मौज्दात सकिएको मौकाको फाइदा उठाउँदै व्यापारीले मूल्य बढाएका छन्।

नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो ३ दिनको अवधिमा चिनीको उपभोक्ता मूल्य वृद्धि भएको हो। संघका अनुसार थोक बिक्रेताले मूल्य बढाएर पठाएका कारण चिनीको उपभोक्ता मूल्य पनि बढेको हो। प्रतिकिलो चिनीमा १० देखि १५ रुपैयाँसम्म वृद्धि भएको छ।

संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार थोकमा प्रतिकिलो ८५ देखि ९० रुपैयाँ रहेको चिनीको खुद्रा पसलले एक सय रुपैयाँसम्म बिक्री गर्न थालेका छन्। ‘तीन दिन अघिसम्म खुद्रामा ८५ देखि ९० रुपैयाँसम्ममा चिनी बिक्री भएको थियो’, श्रेष्ठले भने, ‘साल्ट र स्वदेशी चिनी उद्योगीसँग चिनीको मौज्दात सकिएकाले ठूला व्यापारीले कालोबजारी गरी मूल्य अत्यधिक बढाएका हुन्।’

नेपालमा मासिक २० हजार टन र वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग छ। यसबाहेक दसैंतिहार र छठसम्म अतिरिक्त करिब ३५ हजार मेट्रिक टन चिनी माग हुन्छ। आज प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्