Barahi News

पोखराको बाग्लुङ बसपार्कबाट बालिकालाई जबर्जस्ती कारमा राखी करणी प्रयास, चारजना पक्राउ

पोखरा , ३१ आषाढ:

पोखरामा एक बालिकालाई जबर्जस्तीको प्रयास गरेको आरोपमा कास्की प्रहरीले कार सहित चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान अन्दाजी ६:३० बजेको समयमा पोखरा बाग्लुङ बसपार्क स्थित साहारा अस्पतालको अगाडीबाट निलो रङको कारमा आएका चारजना युवकले बालिकालाई जबर्जस्ती कारमा राखी लेकसाइड स्थित एक होटलमा लगेर जबर्जस्ती करणीको प्रयास गरेका थिए ।

घटनाबारे सुचना पाएको कास्की प्रहरीले तत्काल प्रहरी परिचालन गरी खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो ११:४५ बजेको समयमा पोखरा महानगरपालिका -१८ लामागाउँबाट उक्त निलो रङको ग १ च ७७४५ नम्बरको कार सहित चारै जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं -१० घर भइ हाल वडा नं -३ बस्दै आएका बर्ष २४ का कपिल गुरुङ, सोही ठेगानाका बर्ष २२ का योगेश थकाली, बर्ष १९ का पुकार गुरुङ र अन्नपूर्ण गाउँपालिका -३ काँडे बस्ने बर्ष १८ का सुशल गुरुङ रहेको कास्कीका प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

पक्राउ परेका चारै जनालाई अपहरण तथा शरीर बन्धक र करणी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएकोमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रबक्ता हमालले जानकारी दिनुभयो  ।

प्रतिकृया दिनुहोस्