Barahi News

स्याङ्जाको बिर्घामा पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन बेपत्ता

स्याङ्गजा , ३० आषाढ:

स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान कालिगण्डकी गाउँपालिका-४ स्थित खानेपानीको मुहान बनाउन गएका ६ जनामाथि पहिरो खसेको थियो। त्यसमा तीन जना घाइते भएका थिए।

सोही गाउँपालिका बस्ने ६५ वर्षीय पूर्वगाविस अध्यक्ष ईमानसिंह राणाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

‘पहिरोमा परी घाइते भएकामध्ये एक जना गम्भीर थिए,’ डिएसपी अधिकारीले भने,’उनलाई अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरे।’

त्यस्तै अन्य दुई जनाको उपचारका लागि पाल्पाको मिसन अस्पतालमा रिफर गरिएको छ। ‘उहाँहरूको अवस्था पनि गम्भीर छ र थप उपचारको लागि पाल्पा पठाइएको छ,’ उनले भने।

घाइते हुनेमा ६८ वर्षीय वडा नम्बर ४ का वडा सदस्य हुमानाथ पाण्डे र ५५ वर्षीय विरबहादुर राणा छन्। पहिरोमा पुरिएका अन्य तीन जना अझै फेला परेका छैनन्।

प्रतिकृया दिनुहोस्