Barahi News

ब्यास नगरपालिकाले गाउँ फर्किएका नगरवासीलाई गाउँमै टिकाउने विकास कार्यक्रम ल्याउने

दमौली , १७ आषाढ:

गाउँमा सेवा सुविधा नभएको भन्दै धेरैले गाउँ छाडेर शहरमा बसाइँ सरे । कतिपयले रोजगारीका लागि त कतिले शिक्षा र स्वास्थ्यका लागि । तर, कोभिड–१९ को सङ्क्रमण बढेपछि शहर झरेका अधिकांश सर्वसाधारण गाउँ फर्किए । सुखमा शहर र दुःखमा गाउँ सम्झिनेको कमी रहेन । गाउँ फर्किएका अधिकांश सर्वसाधारण यतिबेला खेती किसानमा आवद्ध छन् ।

गाउँका बाँझो जमिन यतिबेला बाँझो देखिदैन । बाँझो जग्गाको सदुपयोग गर्दै अधिकांशले खेतीपाती शुरु गरेका छन् । असार लागेपछि धान रोप्न महिलाको मात्रै भीड देखिने यहाँका खेतबारीमा अहिले प्रशस्तै पुरुष पनि छन् । यसैलाई मध्यनजर गर्दै ब्यास नगरपालिकाले गाउँ फर्किएका नगरवासीलाई गाउँमै टिकाउने गरी गाउँ विकास कार्यक्रम ल्याउने तयारी गरेको छ ।

जीविकोपार्जन र रोजगारीको अवसर वृद्धि गर्दै गाउँ फर्किएका नगरवासीलाई गाउँमै टिकाउने योजना ल्याउन लागिएको ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमै रोजगारीको अवसरमा सिर्जना गर्न जल, कृषि, शैक्षिक, धार्मिक, खेल, ग्रामीण पर्यटन, सांस्कृतिक एवं प्राकृतिक पर्यटन व्यवसायको विविधिकरण र विस्तारमा जोड दिइने नगरप्रमुख न्यौपानेले बताउनुभयो । कृषि गर्न चाहनेलाई अनुदानको व्यवस्था गरी कृषिमै टिकाउन अन्य सुविधा पनि ल्याउने तयारी गरिएको उहाँले बताउनुभयो । खाली जमिनलाई खेर जान नदिन र कृषियोग्य भूमिको पूर्ण उपयोग गरी कृषि उत्पादन गर्ने नीति कार्यान्वयन गरिने भन्दै उहाँले भन्नुभयो, “जैविक खेती प्रणालीमा जोड दिई रासायनिक मल, उन्नत बीउको आपूर्ति तथा वितरण र सिँचाइको प्रबन्ध मिलाइनेछ ।”

नगरप्रमुख न्यौपानेका अनुसार कृषि तथा कृषिजन्य उद्यम व्यवसायलाई रोजगारीको मुख्य क्षेत्रको रुपमा विकास गर्दै कृषि उत्पादन सङ्कलन गर्न हरेक वडामा एक सङ्कलन केन्द्र निर्माण गरिनेछ । कृषकले उत्पादन गरेका कृषि उपज सामग्री बजारीकरणका लागि कृषि एम्बुलेन्स र कृषि परामर्शका लागि दक्षजनशक्तिको व्यवस्थापनमा निजी क्षेत्र र सहकारी क्षेत्रसँग सहकार्य गरिने नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

कृषि व्यवसाय गर्ने किसानलाई बीउबिजनमा दिइँदै आएको र पशुपक्षीपालन उत्पादनमा अनुदान उपलब्ध गराउने नीति नगरपालिकाको छ । व्यावसायिक बाख्रापालन, माछापालन, स्थानीय जातका गाईभँैसी, बङ्गुर तथा कुखुरापालन कार्यमा सहयोग पु¥याई पशुपक्षी बजार प्रवद्र्धन गर्ने कार्य अगाडि बढाउने तयारी गरिएको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

नगरपालिकाले युवाहरुमा उद्यमशीलता विकास गर्न विभिन्न पेशा व्यवसाय गर्ने इच्छुक युवाहरुलाई स्वरोजगारमूलक तालीम, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई आवश्यक परामर्श सेवा एवं उद्यमशील कार्यमा सहयोग पु¥याउने भएको छ । नगरप्रमुख न्यौपानेका अनुसार नगरपालिकाले ग्रामीण भेगमा रहेको विद्यालयलाई गुणस्तरीय बनाउँदै शिक्षाका लागि शहर बजार आउन नपर्ने नीति बनाउन लागेको छ । “नगरपालिकालाई शैक्षिक हब निर्माण गर्दै नगरपालिकाभित्र रहेका सबै क्याम्पस र विद्यालयको शिक्षा गुणस्तरीय र विश्वसनीय बनाउने नीति अवलम्बन गरिएको छ,” उहाँले भन्नुभयो । कक्षा ५ सम्मका सामुदायिक विद्यालयमा पढ्ने प्रारम्भिक बाल विकास केन्द्र समेतका विद्यालयलाई सङ्घीय सरकारको सहभागितामा दिवा खाजाको प्रबन्ध मिलाइने बताइएको छ ।

प्रतिकृया दिनुहोस्